astrokhemmishra@gmail.com | 9767678383

ज्योतिष शास्त्रमा १२ भावको महत्व

भाव–परिचय                                                                                                         ज्योतिषाचार्य खेम मिश्र   

          ज्योतिष शास्त्रमा भावको विशेष महत्व हुने गर्दछ । ज्योतिष शास्त्र अनुसार भाव भन्नाले कुण्डलीमा रहेको १२ वटा घरहरुलाई जनाउँछ । यसलाई घर (House) भनेर पनि बुझिन्छ । जन्मकुण्डलीको पहिलो भाव(घर)लाई लग्न भनिन्छ । लग्नबाट बायाँतर्फ हुदैँ क्रमशः दोस्रो भाव, तेस्रो भाव, चौथौ भाव हुदैँ १२ भावसम्म हुन्छन् । कुण्डलीमा रहेका प्रत्येक भाव(घर)को छुट्टै महत्व हुन्छ । प्रत्येक भावहरुले व्यक्तिको जिवनका बिभिन्न पक्षहरुको प्रतिनिधीत्व गर्दछन, जस्तैः धन, स्वास्थ्य, सम्बन्ध, जागिर, भाग्य, सुख, करियर आदि ।  
          ज्योतिषशास्त्रमा यीनै १२ भाव(घर)बाट नै व्यक्तिको जीवनको सम्पूर्ण पक्षलाई अध्ययन गरिन्छ । व्यक्तिको गुण, स्वरुप, स्वभाव, रोग, घटना, दुर्घटना, मिलन, बिछोड, आयु, विद्या, जागिर, बैदेशिक योग आदि सम्पूर्ण कुराहरु यीनै १२ भावहरुबाट नै हेरिन्छ । यीनै भावहरुमध्ये जुन जुन भाव शुभ छ अर्थात बलियो छ त्यहि भाव अनुसार व्यक्तिले शुभ फल प्राप्त गर्दछ भने जुन जुन भाव अशुभ एवम् कमजोर छ त्यसै भाव अनुसार अशुभ फल प्राप्त गर्दछ । भाव(घर) बलियो र कमजोर थाहा पाउनको लागि भने त्यहाँ अवस्थीत ग्रहको सम्पूर्ण अवस्था, ग्रहको दृष्टि एवम कारकको अवस्थाबाट मात्र बुझ्न सकिन्छ । तर, यो लेखमा भने ज्योतिष शास्त्र अनुसार कुन कुन भावबाट के–के कुराहरु हेर्ने गरिन्छ भन्ने बिषय मात्र उल्लेख गरेको छु । 
          ज्योतिष शास्त्रले कुण्डलीमा भएको १२ वटा भावलाई बिभिन्न नामाकरण दिएर बिभाजन गरेको छ । भावहरुको प्रकृति र शुभ/अशुभ अवस्थाको आधारमा बिभिन्न नाममा बिभाजित गरिएको ज्योतिषाचार्यहरुको मत रहेको छ । कुन कुन भावलाई के नाम दिएर बिभाजन गरिएको छ त सर्वप्रथम यो बिषय जानौँ ।
 केन्द्र स्थानः ज्योतिष शास्त्रमा जन्म कुण्डलीको प्रथम भाव, चौथो भाव, सप्तम भाव र दशम भावलाई केन्द्र स्थान भनेर उल्लेख गरिएको छ । यी चारै भावहरु उत्तररोत्तर बलि हुन्छन एवम् मानव जिवनको लागि निकै महत्वपूर्ण मानिन्छन । त्यसैले यी चार भावलाई केन्द्र स्थान मात्र नभएर विष्णु स्थान पनि भन्ने गरिन्छ ।  यी चारै भावहरु अत्यन्त शुभ मानिएको छन् । 
त्रिकोण स्थान : जन्म कुण्डलीको पञ्चम र नवौ (५ र ९) भावलाई त्रिकोण भनिन्छ । लग्न अर्थात प्रथम भावलाई केन्द्र र त्रिकोण दुबै मानिन्छ । पञ्चम र नवम भाव अर्थात त्रिकोण भावलाई पनि बलशालि नै मानिन्छ । पञ्चम भाव ज्ञान र बुद्धिको भाव हो भने नवम भावले भाग्य र धर्म प्रतिनिधीत्व गर्दछ । त्रिकोण भावलाई पनि अत्यन्तै शुभ मानिन्छ त्यसैले पञ्चम र नवम भावलाई त्रिकोण स्थान मात्र नभएर लक्ष्मी स्थान पनि भन्ने गरिन्छ । 
पणफरः जन्म कुण्डलीको दोस्रो भाव, पञ्चम भाव, अष्टम भाव र एघारौँ भाव अर्थात (१/६/८/११) भावलाई पणफर भनिएको छ । यी भावहरु स्थिर स्वभावका हुने भएकाले यीहरुलाई पणफर भनिएको हो । पणको अर्थ ‘स्थिर’ र फरको अर्थ ‘फल’ हुन्छ । यी भावहरुले व्यक्तिको जीवनका स्थायी कुराहरु प्रतिनिधीत्व गर्ने भएकोले पणफर भनिएको ग्रन्थहरुमा उल्लेख छ ।  
आपोक्लिमः जन्म कुण्डलीको तेस्रो भाव, छैठौँ भाव, नवौँ भाव र बाह्रौ भाव (३/६/९/१२)लाई आपोक्लिम भनिन्छ । आपोको अर्थ ‘टाढा’ वा ‘दुर’ भन्ने हुन्छ भने क्लिमको अर्थ ‘केन्द्र’ भन्ने हुन्छ । अर्थात केन्द्रबाट टाढा रहेका भावहरु नै आपोक्लिम हुन । केन्द्रबाट टाढा हुने भएकाले यी भावहरु परिवर्तनशिल एवम् कमजोर हुन्छन । यी भावहरु व्यक्तिको जीवनमा परिश्रम, संर्घष र अनिश्चितासंग सम्बन्धित रहन्छ । 
त्रिक स्थानः जन्म कुण्डलीको छैठौँ, आठौँ र बाह्रौ भावलाई त्रिक स्थान नामले चिनिन्छ । यी भावहरु निकै अशुभ मानिन्छन् । ज्योतिष शास्त्रका अनुसार शुभ ग्रहहरु यी भावमा रहनुलाई निकै अशुभ मानिएको छ । यी भावहरुले व्यक्तिको जिवनको चुनौतीपूर्ण र कष्टपूर्ण पक्षलाई प्रतिनिधित्व गर्दछ । 
उपचय स्थानः जन्म कुण्डलीको तृतीय भाव, छैठौँ भाव, दशम भाव र एकादश भावलाई उपचय स्थान नामले चिनिन्छ । उपचय भन्नाले बुद्धि र सञ्चयलाई जनाउँछ । यी भावले व्यक्तिलाई बौद्धिकता प्रदान गर्दछ । यी भावभन्दा अन्य भावलाई अनुपचय स्थानले चिनिन्छ । 
          यसरी १२ भावहरुलाई बिभिन्न नाम संज्ञा दिएर बिभाजन गरिएको छ । अर्को जान्नै पर्ने कुरा के हो भने लग्न अर्थात प्रथम भावलाई ‘उदय स्थान’ पनि भनिन्छ । लग्नदेखिको सप्तम भावलाई ‘अस्त लग्न’ भनिन्छ । यस्तै चौथौ भावलाइ ‘पाताल स्थान’ र दशम भावलाई ‘आकाश स्थान’ भनिन्छ । 
अब जन्म कुण्डलिमा रहेका १२ भाव मध्ये प्रत्येक भावबाट के के कुराहरु हेरिन्छ भन्ने विषय जानौँ । १२ भावहरु मध्ये प्रत्येक भावबाट निम्न कुराहरु हेर्ने गरिन्छ ।
१. पहिलो भाव(लग्न भाव):
          देहं रुपं च ज्ञानं च वर्णं चैव बलाऽबलम्
           सुखं दुःखं स्वभावं च लग्नभावान्निरीक्षयेत् ।
पहिलो भाव अर्थात लग्नबाट व्यक्तिको शारिरीक अवस्था हेरिन्छ । व्यक्तिको व्यक्तित्व, स्वभाव, रंग, मानसम्मान, ज्ञान, सुख–दुख, आत्मविश्वास, अभिमान, पुर्वजहरुको अवस्था आदि हेरिन्छ । व्यक्तिको जीवनशैलीको बारेमा पनि यो भावबाट हेरिन्छ । 
कुुनै व्यक्तिको जन्म कुण्डलिमा लग्न भाव(पहिलो भाव) बलियो छ वा लग्नमा शुभ ग्रह छ भने त्यस्तो व्यक्ति सुन्दर, प्रतापी, ज्ञानी हुनुका साथै ऊर्जावान र आत्मविश्वासी हुने गर्दछ । 

२. दोस्रो भाव(धन भाव)ः 
          धनधान्यं कुटुम्बं च मृत्युजालममित्रकम् 
          धातुरत्नादिकं सर्वं धनस्थानान्निरीक्षयत् ।
दास्रो भावलाई धन भाव पनि भनिन्छ । यो भावबाट व्यक्तिको धन, सम्पत्ती एवम् आर्थिक स्थितीको अवस्था हेरिन्छ । व्यक्तिको वाणि(बोली)को प्रभाव, आवाज, मृत्यु, शत्रु आदिको अवस्था हेरिन्छ । धातु एवम् रत्नको सुख एवम् कारोबार पनि दोस्रो भावबाट हेरिन्छ । 
कुनै व्यक्तिको जन्म कुण्डलिमा दोस्रो भाव(धन भाव) बलियो छ वा दोस्रो भावमा शुभ ग्रह छ भने त्यस्तो व्यक्ति धनवान एवम् पारिवारीक सुख युक्त हुन्छ । 

३. तेस्रो भाव(पराक्रम भाव) :
          विक्रमं मृत्यभ्रात्रादि चोपदेशप्रयाणकम् 
          पित्रोर्वै मरणं विज्ञो दुश्चिक्याच्च निरीक्षयेत् 
तेस्रो भाव अर्थात पराक्रम भावबाट व्यक्तिको शाहस एवम् मेहनतलाई हेरिन्छ । व्यक्तिको नौकर–चाकर, भाई, यात्रा, पिताको मृत्यु, पनि तृतीय भावबाट हेरिन्छ । 
कुनै व्यक्तिको जन्म कुण्डलिमा तेस्रो(धन भाव) बलियो छ वा तेस्रो भावमा शुभ ग्रह छ भने त्यस्तो व्यक्ति निकै साहसी एवम् पराक्रमी हुन्छ । व्यक्ति आफ्नो साहस र पराक्रमले नै विजयी हुन्छ । व्यक्तिको संचार क्षमता अत्यन्त राम्रो हुन्छ ।

४. चौथौ भाव(सुख भाव) :
          वाहनान्यथ बन्धूंश्च मातृसौख्यादिकान्यपि
          निधिं क्षेत्रं गृहं चापि चतुर्थात् परिचिन्तयेत् ।
चौथो भावलाई सुख भाव पनि भनिन्छ । यो भावबाट व्यक्ति जिवनमा सुखी हुने कि दुखी भन्ने कुराको वृस्तीत अध्ययन गरिन्छ । व्यक्तिको सवारीसाधनको सुख, बन्धुवान्धवको सुख, आमाको सुख, मानसिक शान्ति, धन, खेतिपाती, घरको सुख आदि पनि हेरिन्छ । विलासी जिवन, स्तन, एवम् छातीको अवस्था हेरिन्छ । 
व्यक्तिको जन्म कुण्डलिमा चौथो भाव शुभ छ वा चौथो भावमा शुभ ग्रह छ भने उक्त व्यक्तिले घर–जग्गा, पारिवारीक सुख एवम् विलासी युक्त जिवन भोग गर्दछ । व्यक्तिको समग्र जीवन निकै सुखि हुने गर्दछ ।

५. पाचौँ भाव(सन्तान भाव) 
           यन्त्र–मन्त्रौ तथा विद्या बुद्धेश्चैव प्रबन्धकम् 
           पुत्रराज्यापभ्रंशादीन् पश्येत् पुत्रालयाद् बुधः ।
पाचौँ भावलाई सन्तान भाव पनि भनिन्छ । यो भावबाट व्यक्तिको सन्तान(छोरा÷छोरी)को सुखको अवस्थालाई हेरिन्छ । व्यक्तिको यन्त्र, मन्त्र, विद्या, वुद्धि, प्रबन्धन आदिको अवस्था हेरिन्छ । व्यक्तिको सृजनात्मक अवस्था, भाविष्यवाणि गर्ने क्षमता र प्रेम जिवन पनि यो भावबाट हेर्ने गरिन्छ । 
व्यक्तिको जन्म कुण्डलिमा पाँचौ भाव शुभ छ वा पाँचौँ भावमा शुभ ग्रह छ भने व्यक्ति रचनात्मक क्षमता भएको, प्रेममा सफलता हाँसिल गर्नेवाला र सन्तानयुक्त हुने गर्दछ । 

६. छैठौँ भाव(रोग भाव)
          मातुलान्तकशङ्कानां शत्रूंश्चैव व्रणादिकान्
          सपत्नीमातरं चापि षष्ठभावान्निरीक्षयेत् । 
छैठौँ भाव अर्थात रोग भावबाट व्यक्तिको शारीरिक अवस्था र रोगको बारेमा हेरिन्छ । व्यक्तिको मामाको मृत्यु, शंका, रोग, शत्रु, छालामा समस्या, मालिकको दुख, सौतेनी आमाको अवस्था पनि यो भावबाट हेरिन्छ । व्यक्तिको समग्र शत्रुको पक्ष पनि यसै भावबाट हेर्ने गरिन्छ । 
जन्म कुण्डलीमा छैठौँ भाव कमजोर भएमा वा यो भावमा कमजोर ग्रहको अवस्था रहेमा उक्त व्यक्ति स्वास्थ्य सम्बन्धी अनेक समस्याले ग्रसित हुने हुन्छ । व्यक्तिको जिवनमा अनेक दुख एवम् कठिन परिस्थिती आउने हुन्छ । व्यक्तिलाई संघर्षशिल बनाउँछ ।

७. सातौँ भाव(वैवाहिक भाव) :
          जायामध्वप्रयाणं च वाणिज्यं नष्टवीक्षणम्
           मरणं च स्वदेहस्य जायाभावान्निरीक्षयेत् । 
सातौँ भावबाट व्यक्तिको वैवाहिक सुखको अवस्थामा हेरिन्छ । प्रेम जिवन र साझेदारिको काम पनि यसबाट हेरिने हुन्छ । व्यक्तिको पति–पत्नि, आकर्षण, यात्रा, व्यापार, मारक विचार पनि यो भावबाट गरिन्छ । वादविवाद, कोटकचहरि, भिन्न लिङ्गीको अवस्था पनि सप्तम भावबाट हेर्नृपर्ने शास्त्रमा उल्लेख गरिएको छ । 
व्यक्तिको जन्म कुण्डलिमा सप्तम भाव शुभ छ वा सप्तम भावमा शुभ ग्रह छ भने व्यक्तिको वैवाहिक जिवन अत्यन्तै सुखद हुने हुन्छ । व्यक्ति साझेदारी काममा समेत सफल हुने हुन्छ । 

८. आठौँ भाव(आयु भाव) :
          आयू रणं रिपुं चापि दुर्गं मृतधनं तथा 
           गत्यनुकादिकं सर्वं पश्येद्रन्ध्राद्विचक्षणः ।
जन्म कुण्डलीको आठौँ भावबाट व्यक्तिको आयुको सम्पूर्ण विचार गरिन्छ । व्यक्तिको स्वास्थ्य, प्रतिस्पर्धा र संघर्षलाई पनि यो भावबाट हेर्न सकिन्छ । अप्रत्यासित घटना, युद्ध, शत्रु, आकस्मीक धन, पूर्वजन्मको अवस्था, यो जन्मको अवस्था, गुप्त ज्ञान, तन्त्र मन्त्र सिद्धि एवम् साधना आदि पनि हेर्ने गरिन्छ    
व्यक्तिको जन्म कुण्डलिमा यदि अष्टम भावमा शुभ ग्रहको प्रभाव छ भने व्यक्ति गहिरो ज्ञान युक्त एवम् दीर्घायु समेत प्राप्त हुन सक्ने शास्त्रमा उल्लेख गरिएको छ ।  

९. नवौँ भाव(भाग्य भाव)
          भाग्यं श्यालं च धर्मं च भ्रातृपत्न्यादिकांस्तथा
          तीर्थयात्रादिकं सर्वं धर्मस्थानान्निरीक्षयेत् । 
नवौँ भाव व्यक्तिको भाग्यसंग जोडिएको हुन्छ त्यसैले यसलाई भाग्य भाव पनि भनिन्छ । व्यक्तिको भाग्यको समग्र अध्ययन यो भावबाट गरिन्छ । व्यक्तिको धर्मप्रतिको झुकाव र भाग्यको प्रभाव हेरिन्छ । भाईको श्रीमति, साला, तिर्थ यात्रा, आध्यात्मिक प्रगति, लेखन शैली पनि यो भावबाट हेरिन्छ । व्यक्तिको बहुबिवाह सम्बन्धी कुराहरु पनि यो भावबाट हेर्न सकिन्छ । 
व्यक्तिको जन्म कुण्डलिको नवौँ भाव बलियो छ अर्थात नवौँ भावमा शुभ ग्रह छ भने व्यक्ति धार्मिक, भाग्यशालि एवम् दीर्घायु हुने गर्दछ  । 

१०. दशम भाव(कर्म भाव) ः
          राज्यं चाकाशवृत्तिं च मानं चैव पितुस्तथा 
          प्रवासस्य ऋणस्यापि व्योमस्थानान्निरीक्षणम् ।
दशम भाव अर्थात कर्म भावबाट व्यक्तिको समग्र करियरको अवस्था हेरिन्छ । व्यक्तिले गर्ने कर्म र प्रतिष्ठाको सम्पूर्ण कुराहरु यो भावबाट हेरिन्छ । सरकारी जागिर, राज्यबाट प्राप्त हुने सुख, पिताको सुखको अवस्था, उद्योगधन्दा, नौकरी, मानसम्मान, प्रवास जीवनको बारेमा पनि यो भावबाट हेर्न सकिन्छ । पूर्व जन्मको अवस्थालाई यो भावबाट हेर्नुपर्ने ज्योतिषाचार्यहरुको मत रहेको छ । 
जन्म कुण्डलीको दनानशम भाव बलियो भएमा वा दशम भावमा शुभ ग्रह भएमा व्यक्ति करियरमा सफलता हाँसिल गर्ने हुन्छ । व्यक्ति रचनात्मक क्षमता भएको एवम् सुखी पनि हुने गर्दछ । 

११. एघारौँ भाव(लाभ भाव) :
          नानावस्तुभवस्यापि पुत्रजायादिकस्य च 
          आयं वृद्धिं पशूनां च भवस्थानान्निरीक्षणम् । 
एघारौँ भाव आम्दानीको भाव हो । व्यक्तिको आकांक्षा, लाभ, मित्रता यो भावबाट हेरिन्छ । आर्थिक लाभ, सामाजिक सम्बन्धको बारेमा र अनेक धन एवम वस्तुको प्राप्ती, पुत्र, स्त्री सुख, पशु, कृषि र ज्ञानको वृद्धि बारेमा पनि यो भावबाट हेरिन्छ । 
व्यक्तिको जन्म कुण्डलिमा एघारौँ भाव बलियो भएमा अर्थात एघारौँ भावमा शुभ ग्रह भएमा व्यक्तिले ठूलो आर्थिक सफलता प्राप्त गर्दछ । व्यक्ति धनवान एवम् सुखी हुने गर्दछ । 

१२. बाह्रौ भाव(व्यय भाव)
          व्ययं च वैरिवृत्तान्त–रिःफमन्त्यादिकं तथा 
          व्याच्चैव हि ज्ञातव्यमिति सर्वत्र धीमता ।
जन्म कुण्डलीको बाह्रौ भावबाट व्यक्तिको खर्चको अवस्था हेरिन्छ । मोक्ष, वैदेशिक यात्रा, शत्रुको अवस्था, आत्महत्या, सन्यास योगको बारेमा पनि यो भावबाट हेरिन्छ । बाह्रौ भावले भावबाट व्यक्तिले आकस्मिक धन गुमाउने, कमाएको धन संरक्षण गर्न नसक्ने अवस्थालाई पनि हेरिन्छ । समग्रमा भन्ने हो भने व्यक्तिको खर्चको प्रवृति र आध्यात्मिक झुकावलाई यो भावबाट हेरिन्छ । 
व्यक्तिको जन्मकुण्डलीमा यदि बाह्रौ भावमा शुभ ग्रहको प्रभाव भएमा व्यक्तिले वैदेशिक योगमा सफलता हाँसिल गर्दछ र व्यक्ति आध्यात्मिक एवम् दयालु हुने गर्दछ । 
निष्कर्ष  :                                                       
          ज्योतिष शास्त्रमा भावहरुको अध्ययनले व्यक्तिको जीवनका हरेक पक्षलाई स्पष्ट रुपमा बुझ्न सहयोग गर्दछ । कुण्डलीमा ग्रह र राशीको स्थिती जाँचेर हरेक भावको विश्लेषण गर्दा जीवनका चुनौती र अवसरहरुको सहि पहिचान गर्न सकिन्छ ।  

सम्पर्क नम्बरः ९८४८४२५५८९   Email:  astrokhemmishra@gmail.com   Website: www.astrokhemmishra.com                                                                                                                                                                 (लेखक फलित ज्योतिषमा विद्यावारिधी गर्दै हुनुहुन्छ)                        

    

 


 

सम्बन्धित पोस्ट