astrokhemmishra@gmail.com | 9767678383

अष्टमो अध्याय :– शतीशवसह श्री महादेवस्य पृथ्वी भ्रमणो वर्णन

                                                      श्री स्वस्थानी व्रत कथा

श्री गणेशाय नमः ।। श्री सरश्वत्यै नमः ।। श्री स्वस्थानी परमेश्वर्यै नमः ।।
ॐ यं व्रम्हावरूणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यै स्तवै–
र्वेदै साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगाः ।
ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो
यस्यान्तं न विदुः सुरासुरगणा देवाय तस्मै नम : ।।१।।
श्रीमच्चन्दनचर्चितोज्वलवपुः शुक्लाम्बरा मल्लिका–
मालालंकृतकुण्डला प्रविलसन्मुक्तवलीशोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमालाकरा
वाग्देवी वनदाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम् ।।२।।
मूकं करोति वाचालं पंगुं लंघयते गिरिम् ।
यत्कृपातमहं वन्दे परमानन्दमाधवम् ।।३।।
नमो भगवते तस्मै व्यासायमिततेजसे ।
यस्यप्रसादाद् वक्ष्यामि नारायणकथामिमाम् ।।४।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम् ।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत् ।।५।।
साष्टाङ्ग नमनं कृत्वा स्वस्थानीं परमेश्वरीम् ।
कथां सुधोपमां देव्याः श्रुत्वाऽऽभीष्टफलं लभेत् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्राच सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ,।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

          कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि
विष्णु अन्तध्र्यान हुन भई हराएपछि त्यहाँ बाँकी रहेका देवता, यक्ष , गन्धर्व, किन्नर , दैत्य र नागहरु हाहाकार गर्दै “ अब पक्का पनि दक्षप्रजापतिको प्राण जाने भयो । नारायणजस्ताको सुदर्शन चक्र पनि मिथ्या भयो भने अब हाम्रो जित हुन सक्दैन । किनभने जुन चक्रको सामु श्री महादेवजी नै टिक्न कठीन थियो । आज उनै सुदर्शन चक्रका मालिक पनि युद्धभूमिबाट डराई अन्तध्र्यान हुनुभयो भने हाम्रो पराक्रमले ता के चाहिँ गर्न सकिएला र ? अब आ–आफ्नो प्राण बचाउनु बाहेक अरु उपाय छैन ।” भन्दै दशै दिशातिर भाग्दै यी कुराहरु एकआसपासमा भन्न थाले ।

          नारायणसहित देवता यक्ष , गन्धर्व , किन्नर , दैत्य , नाग , अष्टदिक्पाल समेत आ–आफ्नो प्राण बचाउन भागेको देखी कालको रुपकै भएका वीरभद्रले रिसले यत्ति लामो जिभ्रो काढी , नागले झैं निःश्वास गरी सुस्केरा हाली , वर्षाकालको मेघ गर्जे झैं गर्जी जाई लागेर दक्षको टुप्पी समाती भूइँमा पछारी “हे पापी दक्ष ! तँजस्तो दुष्ट र पापी कोही छैन किनभने तैंले श्री महादेवजीको धेरै निन्दा गरिस् । अनि आफ्नी छोरी पनि मारिस् ‘ सकल देवताहरु मेरा जुवाइँ छन् । त्यो देख्दामा पनि विरुप घिनलाग्दो बौलाहा महादेवलाई नडाके के हुन्छ ?’ भन्दै त्रिभूवनका पतिको निन्दा गरिथिस् । लौ अब यसबेला तेरा जुवाइँहरु कहाँ गए ? आफ्नो रक्षाका निम्ति गुहार माग् । अब तेरो प्राण र तेरा यज्ञको पूर्णहुति विनाशंकरले नै होस् । तँलाई पनि यसै यज्ञमा नहोमिदिए हामीलाई सन्तोष हुनेछैन ।” भनी दक्षप्रजापतिको शिर छुट्याएर यज्ञकुण्डमा होमिदिए ।

          वीरभद्रद्वारा जब यसप्रकार दुष्टलाई दण्ड दिइएथ्यो , यो देखेर महाकाली , चतुर्षष्ठी योगिनी , नन्दी , भृङ्गी , पार्थगण , विषमज्वर , भूत , प्रेत , पिशाच , आदिले एकै स्वरमा “ धन्य धन्य वीरभद्र ! धन्य धन्य शिवशक्ति ! शिवको निन्दा गर्ने जिभ्रो र मुख भएको दुष्टको टाउको जै नाश गरिदिनुभयो । ” भनी जयजयकार गर्दा भए । 

          तहाँ उप्रान्त दक्षपत्नी विरणीले आफ्ना पतिको शिर छुट्याई वीरभद्रले यज्ञकुण्डमा होमेको देखी हुरी बतासले केराको थाम भुइँमा ढले झैं आफू पनि भुइँमा लडी मूर्छा परिन् । धेरैबेरपछि होश आयो र नाना शोक र विलाप गर्न लागिन् । “ हे नाथ ! हे स्वामी ! मलाई यो अवस्थामा पारी अनाथ तुल्याई तपाईं कहाँ जानुभयो ? हामीद्वारा गरिने अश्वमेध यज्ञमा जगदीश्वर श्री महादेवजीको आवाहन नहुँदा यस्तो भएको हो । 

           हे स्वामी वहाँले नडाक्नु तपाईंले नजानेकोले अनि अहंकार अज्ञानले छोपिएका मूर्ख बुद्धिले शिवजीको निन्दा गरेकोले तपाईंको आज यो गति भयो । हे स्वामी ! तपाईं प्राण विहीन हुनुभयो । मेरो पनि यो अवस्था भयो । ” भनी नाना तरहका आलापविलाप गरी विरणीले महावीर वीरभद्रका सामु गई विन्ती गरिन् ।

          फेरि विरणीले वीरभद्रलाई विन्ती गर्दै भन्न लागिन् :– “ हे वीरभद्र ! हे ईश्वर ! मेरा पति अत्यन्तै अज्ञानी हुन् । अहङ्कारी पनि हुन् । त्यस्ता अज्ञानी मूर्खलाई नाश गरिदिँदा तपाईंको के बढाईं होला ? हे प्रभु ! मलाई विधुवा नतुल्याउनुस् । मेरा स्वामी दक्षप्रजापतिलाई जीवनदान दिई मेरो उद्धार गर्नुहोस् । हे वीर ! आफैले सृष्टि गर्नुभएकामा आफैले संहार गर्नु योग्य होइन । हे ईश्वर ! तपाईं कस्ता हुनुहुन्छ भने सृष्टि, स्थिति , संहारकर्ता महारुद्र र श्री महादेवजी पनि तपाईं ! आदि , अनादि , व्रम्हा , विष्णु र शिवजी पनि तपाईं नै हुनुहुन्छ । हे भक्तवत्सल ! मेरा पतिबाट भएका सम्पूर्ण अपराधलाई क्षमा गरी बिउँझाइदिनुहोस् । हे शिव ! ममाथि दया होस् ।”

          यस प्रकारले विरणीले गरेको करुण क्रन्दन र आर्त पुकारलाई देवताहरुले सुनी आकाशबाट पुष्पवृष्टि गरे र “ हे वीरभद्र ! दक्षप्रजापतिलाई बिउँझाई ती विरणीको मन सन्तोष गराइदिनुहोस् ।” भनी विन्ती गरे । इन्द्रादि देवताको निवेदन र विरणीले अति शोक गरेको सुन्दा वीरभद्रको छाती करुणाले भरियो । उनले विरणीको मुखपट्टि हेरेर भने ः–“ हे विरणी ! तिम्रो अवस्था देखेर म पनि दुःखी छु । अनि तिम्रो स्तुति सुनेर म प्रशन्न पनि भएँ । अब म तिमीलाई पतिको वर दिन्छु तर दक्षको शिर मैले यज्ञमा हवन गरिसकेकोले यज्ञमा बलिदान दिएको बोकाको टाउको जोडेर बिउँझाइदिन्छु । उसले जगदीश्वरलाई पशु सरह भै निन्दा गरेकोले त्यस्ता मानवपशुलाई पशुकै टाउको जोडिदिनु योग्य छ । ”

          वीरभद्रका यी कुरा सुनेर विरणीले अञ्जली बाँधेर “हवस्” भनिन् र वीरभद्रले बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडेर दक्षप्रजापतिलाई बिउँझाइदिए । आफ्नो पति बोको शिर भएर बिउँझिएपछि विरणीले सन्तोष मानी बोका टाउको भएको (छाग मुख) पतिसँग भएर महाकाली र वीरभद्रलाई शाष्टाङ्ग दण्डवत् गरी आफ्ना घर आए ।

          हे अगस्त्य मुनि ! तेत्तीसकोटी देवता , यक्ष , गन्धर्व , किन्नर , दानव , दैत्य तथा नागहरुसमेत दक्षप्रजापतिका सेनाहरुको नाश र यज्ञ विध्वंशसमेत गरी भूत , प्रेत , पिशाच , नन्दी , भृङ्गी , प्रमथगण आदि सम्पूर्ण गणहरु साथ लिई महाकाली र वीरभद्र त्यहाँबाट अन्तध्र्यान भई कैलाशपर्वतमा पुगेर श्री महादेवका चरणमा शाष्टाङ्ग दण्डवत प्रणाम गरी विन्ती गर्न लागे ः–“ हे जगदीश्वर ! हजूरबाट आज्ञा पाई दुर्मुख दक्षप्रजापतिको यज्ञ विध्वंश गरी कोटीकोटी देवता , यक्ष , गन्धर्व, किन्नर , दानव , दैत्य र नाग आदि दक्षप्रजापतिका अनेकौं सेनाहरु मारी दक्षको शिर छुट्याई उसैका यज्ञमा होमिदियौं । दक्षपत्नी विरणीले आफ्ना स्वामीको त्यो निष्प्राण शरीरलाई देखेर साह्रै विलाप गर्न लागेको देखी हामीलाई करुणा जाग्यो ।           स्वभाव अनुसारको अनुहार र बोली अनुसारको मुख सुहाउँदो गराउन बलि दिएको बोकाको टाउको ल्याई पछिल्तिर मुख फर्काई जोडिदियौं र दक्षलाई जियायौं । ” यी कुराहरु सुनी श्री महादेवजीले सन्तोष भई भन्नुभयो :– “ हे महाकाली ! हे वीरभद्र ! म सन्तोष भएँ । तिमीहरु धन्य हौ ” यत्ति भनी श्री महादेवजीले ती दुबैलाई आफूमा लीन गराउनुभयो ।

          हे अगस्त्य मुनि ! तहाँ उप्रान्त श्री महादेवजीले सतीदेवीलाई सम्झी दक्षप्रजापतिले यज्ञ गरेको ठाउँमा पुगी यज्ञकुण्डभित्र निष्प्राण रहेकी सतीदेवीलाई देखी बलिन्द्र धारा आँसु खसाली “हे प्रिये ! कैलाश शूण्य गराई , मलाई छाडी , तिमी कहाँ गयौ ?” भनी यस्ता प्रकारका नाना थरीका बिलाप गरी हावाले रुख ढले झैं भूइँमा ढली मूर्छा पर्नुभयो । केहीछिनपछि होशमा आउनुभयो र फेरि अनेकौं विलाप गर्न लाग्नुभयो । “ हे प्राण प्यारी ! हे सतीदेवी ! अब म एक्लो भएर बाँच्नु व्यर्थ छ । मलाई एकैछिन पनि नछोडी मेरै मुखतिर हेरी मैले सुनाएका कथा , पुराण र तिनका महिमाहरुमा भुलिरहन्थ्यौ । अबदेखि त्यस्ता कथा र महिमा मैले कसलाई सुनाउनु ? र कसले सुनिदेला ? हे सतीदेवी ! यो यज्ञ तिम्रै बाबाको हो । यो भूमि तिम्रै जन्मथलो हो । यो घर तिम्रै माइतीघर हो । तापनि बिहे गरेर घर पठाएकी छोरीले नडाकेसम्म मन जिती माइत जानु ठीक होइन । हे प्रिये ! यसरी तिम्रो अवश्य अपमान हुनेछ भन्ने ठानेर मैले नजाऊ भनेकै थिएँ । मैले भनेका वचन मानिनौ र तिम्रो यो अवस्था भयो । हे प्रिये ! अब मैले तिम्रो सधैं हसिँलो बोली कहाँ देख्न र सुन्न पाउँला ?” भन्दै मुड्कीले छात्ती ठोकी मोतीका दाना झैं आँसुका ढिक्का बहाई फेरि विलौना गर्न लाग्नुभयो “हे प्यारी ! मलाई मनपर्ने खानेकुरा विष , भाङ्ग , धतुरो र गाँजा आदि मेरा स्वामीले खाने कुरा भनी हितभावले राम्रो जगेर्ना गरी राखिदिन्थ्यौ । अब त्यसरी कसले राखिदेला ?           म कतै बाहिरतिर गएर आइपुग्नासाथ हत्तपत्त कमण्डलुमा जल लिएर हातपाउ धोइदिन बाहिर निस्कन्थ्यौ , भरेदेखि कसले त्यसो गरिदेला ? हे प्रिये ! म एक्लो भएँ । तिमीविना कसरी मेरो चित्त थामिएला ?” इत्यादि वेदना व्यथा पोख्ने कहिले सतीदेवीको मृत देहलाई अङ्कमाल गर्ने , कहिले हातमा र गालामा म्वाइ खाने , कहिले छातीमा हात राख्ने , कहिले केश सुम्सुम्यउने , कहिले सतीदेवीको हात आफ्नो छातीमा राख्ने आदि अरु नाना तरहका शोक विलाप गर्न लाग्नुभयो ।

          त्यसपछि सतीदेवीको प्राणरहित शरीरलाई पीठमा बोकी हा सती ! हा सती ! भनी बेहोस् जस्तो भएर पृथ्वीमा जहाँतहाँ भ्रमण गर्न लाग्नुभयो । श्री महादेवका पीठमा लिइएके हुँदा सतीदेवीको शरीर गल्नु र दुर्गन्ध आउनु केही पनि भएन । केवल निन्द्रामा नै रहेजस्ती भएर सतीदेवीको शरीर रह्यो ।

इति श्री स्कन्द पुराणे
केदारखण्डे माघ महात्म्ये
कुमार अगस्त्य संवादे
श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां
शतीशवसह श्री महादेवस्य पृथ्वी भ्रमणो वर्णन नामो अष्टमोअध्याय
श्री स्वस्थानी परमेश्वरीकी जय ! जय !! जय !!!

ॐ उपनयतु मंगलं वः सकलजगन्मङ्गलालय
श्रीमान् दिनकर–किरण निबोधित–नव–
नलिनदलनिभेक्षणः श्रीकृष्णः।।
काले वर्षन्तु पर्जन्यः पृथिवी शस्यशालिनी ।
देशोऽयं क्षोभरहितो व्राम्हणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र
यत्राच्युतोदारकथाप्रसंग ।।
या कुन्देन्तुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्यासना ।
या व्रम्हाऽच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा
बुध्यात्मनावाऽऽनुसृतेः स्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै
नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोध्र्वञ्च वामे च वरमुत्पलम् ।।
भतुर्भुजा त्रिनेत्राच सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नम।

 

सम्बन्धित समाचार